दफा ३१
उपचार खर्च

(१) न्यायाधीश विरामी भई चिकित्सकको प्रेस्क्रिप्सनमा रोगको निदान (डाइग्नोसीस) गरी उपचार गराउँदा लागेको देहायको खर्च निजले उपचार खर्च बापत पाउनेछः–

(क) अस्पतालमा भर्ना हुँदा र अस्पतालमा उपचार गराउँदा लागेको अस्पतालको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम खरिद गरेको औषधि खर्च,

(ख) अस्पतालमा भर्ना हुन नपर्ने वा भर्ना हुन नसकेको अवस्थामा वा अस्पतालमा भर्ना भई अस्पतालबाट निस्केपछि पनि रोगको उपचारको लागि कुनै चिकित्सक, कविराज वा वैद्यले जाँच गर्दा लिएको शुल्क तथा जाँच गरी लेखी दिएको प्रेस्क्रिप्सन अनुसार खरिद गरेको औषधि खर्च ।

(ग) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अपरेशन) गर्दा लागेको बिल बमोजिमको खर्च,

(घ) चस्मा, दाँत, एअरफोन आदि उपकरणको लागि नेपाल सरकारले समय समयमा आदेश जारी गरी तोकिदिएको हदसम्मको रकमको लागेको बिल बमोजिमको खर्च,

(ङ) आफ्नो घर वा डेरा छाडी अर्को जिल्लामा वा विदेशमा गई औषधि उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दाको र फर्कँदाको विरामीको र कुरुवा चाहिने अवस्था भए एक जना कुरुवा सम्मको यातायात खर्चको पूरै रकम र खाना खर्च बापत निजले पाउने दैनिक भत्ताको पचहत्तर प्रतिशत रकम ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक पटकमा पाँच सय रुपैयाँभन्दा घटी खर्च भएकोमा उपचार खर्च दिइने छैन र कुल सेवा अवधिभर न्यायाधीशले पाउने बाह्र महिनाको पारिश्रमिकभन्दा बढी रकमको उपचार खर्च दिइने छैन ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पदीय कामको सिलसिलामा चोटपटक लाग्न गई घाइते भएको न्यायाधीशलाई स्वदेशमा उपचार गराउनको लागि र निजको स्वदेशमा उपचार हुन नसक्ने भई विदेशमा उपचार गराउन नेपाल सरकारद्वारा गठन भएको मेडिकल बोर्डले सिफारिस गरेमा विदेशमा उपचार गराउँदा लागेको प्रेस्क्रिप्सन तथा बिल बमोजिमको खर्च नेपाल सरकारले व्यहोर्नेछ ।

(४) यस ऐन बमोजिम पाउने उपचार खर्च न्यायाधीशले पेश्कीको रूपमा लिन चाहेमा उपदफा (२) को अधिनमा रही पछि हिसाब बुझाउने गरी पेश्की दिन सकिनेछ र त्यसरी पेश्की लिएको रकम पछि हिसाब गर्दा उपचार बापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भए जति रकम न्यायाधीशको पारिश्रमिकबाट किस्ताबन्दीमा कट्टा गरिनेछ ।
तर त्यसरी कट्टा गर्नु पर्ने रकम भुक्तानी नहुँदै न्यायाधीशको मृत्यु भएमा कट्टा गर्न बाँकी रहेको रकम मिन्हा हुनेछ ।

(५) न्यायाधीशको परिवारको कुनै सदस्य विरामी भएमा उपदफा

(२) बमोजिम पाउने अधिकतम उपचार खर्चको रकमबाट कट्टा हुने गरी सो रकमको आधासम्म बिल बमोजिम भएको उपचार खर्चको नब्बे प्रतिशत रकम न्यायाधीशले लिन पाउनेछ ।

(६) उपदफा (५) बमोजिम उपचार खर्चको माग गर्दा रोगको निदान (डाइग्नोसिस) उल्लेख गरिएको चिकित्सकको प्रेस्क्रिप्सन पेश गर्नु पर्नेछ ।

(७) न्यायाधीशको परिवारको कुनै सदस्य विरामी भई विदेशमा गई उपचार गराउनु पर्दा वा स्वदेशमै अस्पताल भर्ना भई शल्यक्रिया वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेसक्रिप्शन बमोजिम लागेको औषधि उपचारको खर्चको नब्बे प्रतिशत रकम न्यायाधीशले उपदफा (२) बमोजिम पाउने रकममध्येबाट पाउनेछ ।

(८) उपदफा (५) र (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्यायाधीशको सगोलको पति वा पत्नी, आमा वा बाबु वा सासू वा ससुरा कुनै संवैधानिक पदमा वा सरकारी सेवामा वा सरकारी स्वामित्व वा नियन्त्रण भएको संस्थाको सेवामा बहालवाला कर्मचारी भएमा त्यस्तो उपचार खर्च पाउने छैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संवैधानिक पद” भन्नाले संवैधानिक निकायको प्रमुख वा पदाधिकारीको पद सम्झनु पर्छ ।

(९) न्यायाधीशले सेवाबाट अलग हुँदा उपदफा (२) बमोजिम पाउने उपचार खर्च लिन बाँकी रहेको भए त्यस्तो बाँकी रकम एकमुष्ट रकम लिन पाउनेछ ।

तर निवृत्तभरण पाउने गरी सेवाबाट अवकाश पाएका उच्च अदालतको न्यायाधीशले पन्ध्र वर्ष तथा जिल्ला अदालतको न्यायाधीशले पच्चीस वर्ष सेवा अवधि पूरा गरेको रहेछ भने त्यसमा अर्काे दश प्रतिशत थप गरी हुन आउने रकम एकमुष्ट निजहरूले त्यसरी सेवाबाट अलग हुँदा लिन पाउनेछ ।

(१०) उपदफा (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको सेवा गरे बापत उपचार खर्च लिइसकेको न्यायाधीशले अघि पाएको उपचार खर्च कट्टा गरी बाँकी रकम मात्र लिन पाउनेछ ।

(११) न्यायाधीशलाई देहायको अवस्थामा बाहेक परिवार र आफ्नो निमित्त समेत गरेर एक वर्षमा निजले पाई आएको डेढ महिनाको पारिश्रमिक बराबरको रकमभन्दा बढी उपचार खर्च दिइने छैनः–

(क) यस दफा बमोजिम विदेशमा गई उपचार गराउनु पर्दा वा स्वदेशमै पनि अस्पतालमा भर्ना भई उपचार गराउनु पर्दा,

(ख) उपदफा (७) बमोजिम परिवारलाई उपचार गराउँदा ।

(१२) यस दफा बमोजिम उपचार खर्च माग गर्ने न्यायाधीशले अदालतमा उपस्थित हुन नसक्ने गरी विरामी भएको अवस्थामा विरामी बिदा बाँकी भएसम्म विरामी बिदा नै माग गर्नु पर्नेछ ।

तर विरामी बिदा बाँकी नभएमा अरू बिदा माग गर्न बाधा पर्ने छैन ।

(१३) यस दफा बमोजिम पाउने उपचार खर्च लिन नपाउँदै न्यायाधीशको मृत्यु भएमा त्यस्तो उपचार खर्च दफा १५ को उपदफा (१) बमोजिमको व्यक्तिले लिन पाउनेछ ।

(१४) यस दफा बमोजिम न्यायाधीशले पाएको उपचार खर्चको विवरण न्यायाधीशको बिदाको अभिलेख र व्यक्तिगत अभिलेखमा राख्नु पर्नेछ ।